Govinda Karki

Govinda Karki
Pen is symbol of power

हे गुरु, मलाई हजुरको पढाउने तरिका मन परेन

 






हे गुरु, मलाई हजुरको पढाउने तरिका मन परेन

हे गुरु, सुन्नुहोस् मेरो मनको कुरा,
पढाउनुस् न यसरी, जलेको मन होस् शीतल धारा।

पाठ मात्र हैन, सिकाउनुहोस् जीवनको सार,
पाठशालामा होस् हरेक दिनको उज्यालो आधार।

हे गुरु,
तपाईं ओल्ड पुस्ताको, म (अल्फा) डिजिटल युगको,
तपाईंको तरिका पुरानो, मेरो सोच नयाँ।

दिक्क लाग्छ प्रवचन र पुराना व्याख्या,
म खोज्छु परियोजना, रुपान्तरण, सृजनशीलता।

संसार दौडिरहेको छ, इन्टरनेटको गतिमा,
(AI) एआइको स्पर्शले छोएको छ मेरो कल्पनाको आकाशमा।
म रोबोटिक्स र आईटीमा चाख राख्छु,
तर तपाईंको पाठमा समयले सास फेर्दैन,
किनकी तपाईंको प्रवचनले मेरो मन छोएन।

गफ भन्दा परको सिप चाहन्छ मेरो पुस्ता,
अनुशासन र नैतिकताको उज्यालो बाटोमा।
म चाहन्छु समयको महत्व बुझ्न,
संसारको नयाँ तरिकाबाट आफूलाई सजाउन।
तर तपाईं, गुरु, पुरानै तरिकामा बाँधिएर,
किन बुझ्न सक्नुहुन्न मेरो यो आगोको ज्वाला?

सडक बदलियो, संचार बदलियो,
बालबालिकाको मनस्थितिले नयाँ बाटो खन्न थाल्यो।
तर कक्षाकोठाको पर्खालभित्र,
अझै पुरानै शैलीको पढाइको चक्र चलिरहेछ।
पाठशाला उज्यालो बन्नुपर्ने ठाँउ,
किन बनिरह्यो त्यही अँध्यारो पुरानो गाउँ?

हे गुरु, हजुरलाई म सम्मान गर्छु,
तपाईंको ज्ञान र अनुभवलाई म शिर झुकाउँछु।
तर आजको युगले खोज्छ परिवर्तन,
खै त्यो सोच, जसले मेरो मन मस्तिष्कलाई छुन सक्छ?
गफले होइन, कामले भरिएको शिक्षा,
खोज्छ मेरो पुस्ताले त्यो उज्यालो दिशा।

मलाई पाठ्यपुस्तक मात्र होइन,
जीवन जिउने कला सिकाउनुस्।
मलाई अक्षर मात्र होइन,
स्वप्नहरूको आकाश चिनाउनुस्।
किनकी, हे गुरु, म बन्न चाहन्छु परिवर्तनको दीप,
मेरो सृजनाले जोडुन उज्यालो सिप।

गुरु,
पाठशाला शिक्षाको मन्दिर हो,
यसलाई थकानको कारागार नबनाउनुस्।
तपाईं मेरो प्रेरणा बन्न सक्नुहुन्छ,
परिवर्तनको भाषामा बग्न सक्नुहुन्छ।
म तपाईंलाई सम्मान गर्छु, तर भन्छु,
"हे गुरु, मलाई हजुरको पढाउने तरिका मन परेन।"

-अज्ञात सर्वनाम 


Post a Comment

0 Comments