नेपाल, हिमाल र पहाडले भरिएको, सदियौँदेखि आफ्ना सांस्कृतिक धरोहरले गुल्जार भएको देश हो । हाम्रो देश स्वावलम्बी तथा आत्मनिर्भर कृषि प्रणाली स्वतन्त्र र स्वाधीन अर्थतन्त्र तथा विविधतामा एकताको प्रतिकको
रूपमा स्थापित सामाजिक संरचनाका लागि परिचित थियो । इतिहासको पाना पल्टाउँदै जाने हो भने संसारको वैभवयुक्त देश
अमेरिकाको अस्तित्व हुनु अगाडि नै नेपाल स्वर्ण युगमा बाँचिरहेको थियो । निरन्तर
विश्व परिवेश बदलिँदै गयो विज्ञान प्रविधिले फड्को मार्दै गयो । शैक्षिक विकास तथा उन्नति
प्रगतिमा अन्य देशले रूपान्तरणकारी परियोजनाहरू कार्यान्वयन गर्दै गए । शैक्षिक
आर्थिक राजनीतिक रूपमा फड्को मारेका देशहरु आज शैक्षिक हबको रुपमा स्थापित भएका
छन् । यता नेपालको शैक्षिक
विगत शिक्षाका विरोधका कालमा बाँचिरहन बाध्य भयो । गुन्द्रुक झैँ शैक्षिक
अन्धकारको युगबाट गुज्री रह्यो । कहाली लाग्दो राणा शासन र यससँग अन्तर सम्बन्धित
भएको शिक्षा जहाँ भुइ मान्छेहरूको सचेतना निमोठ्ने कुकर्ममा लागिरह्यो । शिक्षाका
उज्यालो पाइलाहरूमा शासन सत्ताको
निरङ्कुशको
बुट बज्रिररह्यो । त्यो लिच्छविकालीन स्वर्णयुग इतिहासका धुमिल अक्षरहरूमा सीमित
गराइदियो ।
विडम्बनापूर्ण र नमिठो शैक्षिक इतिहास पढ्दै आएको हामी आम नेपालीलाई आजको बदलिंदो विश्व परिवेशले पनि सुखी र खुसी बनाउन सकेको छैन । हामी आफ्नै पहिचान कायम राख्न संघर्षरत छौ । वर्तमान अवस्थामा राजनीतिकको मियो धर्मराएको
महसुस हुन्छ । शैक्षिक धरातलहरू
धमिराले खाएको जस्तो मक्किएर जर्जर अवस्थामा पुगेको छ । विद्यालय र
विश्वविद्यालयहरूका व्यतिथिहरूले चिहान घरको संकेत गरिरहेका छन् । सामाजिक
संरचनामा उत्तर आधुनिकवादको खास्टो ओडेर धर्मान्तरणदेखि असहिसुर्ण विशृङ्खलताको अवस्थाले सिमा
नाघेको छ । नयाँ जोशीला रगतको प्रतिक युवा शक्ति विदेशमा अध्ययन र रोजगारीका लागि जाने प्रवृत्ति तीव्र रूपमा बढेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य नियाल्ने हो भने विदेशिने युवाहरूको
लर्कोले निकै भावुक बनाउँछ । विभिन्न अध्ययन र अनुसन्धानहरूले देखाएका छन् कि नेपालबाट दैनिक करिब १५०० जना युवा र अन्य नेपालीहरू वैदेशिक अध्ययन तथा रोजगारीका लागि खाडी राष्ट्र, यूरोप र अन्य विकसित देशहरूतर्फ प्रस्थान गरिरहेका छन् । विदेशिएका नेपाली युवा शक्तिलाई फेरि आफ्नो गुण / घरमा फर्काउन निकै
ठूलो चुनौतीको पहाड हामीसामु छ । गाउँ र समाज विघटन हुने अवस्थामा पुगेको छ। सामान्य खेती गर्नेदेखि मलामी
जाने युवा शक्तिहरू को रिक्तताले देश जनशक्तिविहीन खोक्रो हुने अवस्थामा पुगेको छ
। यस विकराल अवस्थालाई नजिकबाट नियालिरहँदा किन यस्तो परिस्थिति सिर्जना भइरहेको छ
भन्ने कौतुहलता जागिरहने गर्दछ। युवाहरू किन विदेश गइरहेका छन् ? उनीहरू नेपालमा किन बस्न चाहँदैन ? रोजगारीका लागि विदेशिनुपर्ने
बाध्यता हो कि होइन ? वैदेशिक अध्ययन अनुमति
लिएर विदेशिने युवाहरू भविष्यमा आफ्नो गुण फर्कन्छन् कि फर्किन्नन् ? यी यावत विषयहरू जल्दो बल्दो सवालको रुपमा यो
देशमा उठिरहेको छ ।
वैदेशिक अध्ययन र
रोजगारीको
लागि विदेशिने बढ्दो ट्रेन्डले राष्ट्रको शैक्षिक आर्थिक, सामाजिक, सांस्कृतिक र दीर्घकालीन विकासमा पनि जटिल समस्याहरू निम्त्याएको छ । यस पृष्ठभूमिमा, स्वदेशमै उत्पादन, रोजगारी र स्वरोजगारीका अवसरहरू सिर्जना गरी विद्यार्थी युवाहरूलाई
नवप्रवर्तनात्मक तथा उद्यमशीलता सहितको युवा टिकाउने नीति बजेट कार्यक्रमको कदम
चालिनुपर्दछ। स्वदेशमै अवसर र सम्भावना उपलब्ध गराउने कार्यक्रमहरू र नीति अपनाउन सकेमात्र दीर्घकालीन आत्मनिर्भरता र आर्थिक समृद्धि सुनिश्चित गर्न सकिन्छ । मेरो विचारमा, मौलिक र व्यावहारिक कार्यक्रमहरूलाई अवलम्बन गरेर, डिजिटल, परम्परागत र उद्यमशीलताका उपायहरूलाई एकसाथ मिलाएर, स्वदेशी विकासमा नयाँ क्रान्ति ल्याउन सकिन्छ। यस लेखमा म निम्नानुसारका क्षेत्रहरूमा आधारित कार्यक्रमहरूको सवाल र समाधानको विस्तृत रूपमा चर्चा गर्ने छु
समस्याको उठान
पहिलो, उच्च गुणस्तरको शिक्षा र विशेष गरी आधुनिक प्रविधि तथा व्यावसायिक तालिमका अवसरहरूको अभावले विद्यार्थीहरूलाई वैदेशिक मोहले प्रेरणा दिएको छ । विद्यालय तथा कलेज स्तरमा आधुनिक पाठ्यक्रम र डिजिटल शिक्षणको अभावले गर्दा विद्यार्थीहरूलाई वैदेशिक अध्ययनको लागि विदेश
आकर्षणको केन्द्र बनेको छ । नेपाली युवा विद्यार्थीहरूले विदेशलाई नै गन्तव्यको
रुपमा स्थापित गर्न सक्ने सम्भावना बढेर गएको छ। यो जोखिम पूर्ण अवस्थालाई समयमै
समाधान गर्न हामीले हाम्रो घर तहबाट सामुदायिक स्तरबाट स्थानीय तहबाट तथा राज्य
स्तरबाटै समाधानको पोया फुकाउन जरुरी छ। पढ्दै कमाउँदै तथा सिक्दै कमाउँदै शिक्षामा सीप जस्ता कार्यक्रम र नीति अभावका कारण स्वरोजगारीको लागि
अन्तर्राष्ट्रिय स्तरका सीप सिक्ने अध्ययन गर्ने र चाँडै कमाउने सोचका साथ विदेशमा अध्ययन र रोजगारी गर्ने विकल्प युवा विद्यार्थीहरूको प्राथमिकतामा परेको छ । यस स्तरको सोच सर्वव्यापी
रूपमा देशभित्र मौलाउँदै गएको अवस्था छ।
दोस्रो, घरेलु रोजगारीका अवसरहरूको कमीले गर्दा युवा शक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेको छ। देशका पारम्परिक उद्योगहरूरहेका छन् भने यस्ता उद्योगहरू समेत विभिन्न हड्ताल तथा आन्तरिक
बाह्य कारणले बन्द हुने गर्दछ । हाम्रो देशमा रोजगार स्वरोजगार तथा उद्दमशीलताका अवसरहरू सीमित रहेका कारण, युवा तन्नेरी तथा विद्यार्थीहरू विदेशमा उच्च आम्दानी र प्रलोभनका अवसर खोजिरहेका हुन्छन् । वैदेशिक देशहरूमा दैनिक आम्दानी दर उच्च रहँदा, आर्थिक दृष्टिले पनि उनीहरूलाई आकर्षित गर्दछ । यसर्थ सयौँ दिनको पैदल
यात्रा गरी ज्यानको बाजी लगाएर विदेशिने तथा कन्सल्टेन्सीहरूलाई साहुको करोडौं रकम सुम्पिएर युवाहरू विदेशिने कुसंस्कार
यथार्थमा संस्कारको रुपमा विकास भइरहेको छ।
तेस्रो, सामाजिक र सांस्कृतिक प्रभावले पनि यो प्रवृत्तिमा महत्वपूर्ण भूमिका खेलेको छ। पारिवारिक अपेक्षा, सामाजिक प्रतिष्ठा र आधुनिक जीवनशैलीको प्रभावका कारण युवा पुस्ताले विदेश जाने निर्णयमा सजिलै प्रभावित हुन सक्छन् । साथै, विभिन्न मिडिया कन्सल्टेन्सी र समाचारमार्फत देखाइएका सफलताको कथाहरूले पनि वैदेशिक अध्ययन र रोजगारीजानको लागि रहरहरू
पलाउन मद्दत पुगेको छ।
विदेशी रोजगारीमा निर्भरता बढ्दा, घरेलु उत्पादन र उद्यमशीलता कमजोर हुने जोखिम पनि उच्च हुन्छ। युवा शक्ति विदेशमा हुँदा घरेलु उद्योगहरूमा दक्ष जनशक्ति उपलब्ध नहुँदा, उत्पादन र नवप्रवर्तनमा कमी आउँछ। आर्थिक असन्तुलन र अस्तव्यस्तताको कारणले देशको अर्थतन्त्रमा दीर्घकालीन अस्थिरता निम्त्याउने सम्भावना रहन्छ । साथै, युवा पलायनका कारण पारिवारिक संरचनामा विघटन, वृद्ध जनसंख्या वृद्धि र सामाजिक असमानताको समस्या पनि उत्पन्न हुन्छ। देश गरिबीको दलदलमा
फस्ने
तथा गृह युद्धमा भाँसिन
सक्ने
सम्भावना जीवित रहन्छ।
समाधान
उपरोक्त समस्याको समाधानका लागि विभिन्न क्षेत्रहरूमा ठोस कार्यक्रम र पहलहरू अवलम्बन गर्न आवश्यक छ। पहिलो, डिजिटल प्रविधि र एआइ शिक्षणलाई प्राथमिकताका साथ विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समावेश गरिनुपर्छ। यसका लागि, डिजिटल र एआइ पाठ्यक्रमहरू अनिवार्य रूपमा निर्माण तथा डिजाइन
गरी
कार्यान्वयन गर्नुपर्दछ
। युट्युब, फेसबुक जस्ता अनलाइन प्लेटफर्महरू मार्फत वेबिनार, ट्यूटोरियल र ह्याकाथनहरू आयोजना गर्न सकिन्छ । जसले विद्यार्थीहरूलाई नयाँ विचार विकासमा प्रेरित गर्नेछ। सरकार र नीजि क्षेत्रबीच सहकार्य गरेर डिजिटल शैक्षिक सामग्री, इ-लर्निंग प्लेटफर्म र मोबाइल एप विकास गरिनुपर्छ जसले युवाहरूलाई आधुनिक प्रविधिको जानकारीमा दक्ष बनाउनेछ। नेपालबाटै वैदेशिक आयआर्जन गर्न सकिन्छ।
देशको युवा शक्ति भविष्यको आधार हो। यदि हामीले वैदेशिक रोजगारीमा निर्भरता घटाई, स्वदेशमै उत्पादन र उद्यमशीलताका नयाँ मोडेलहरू विकास गर्ने ठोस कदम चाल्यौं भने, हाम्रो राष्ट्र आत्मनिर्भर र समृद्ध बन्न सक्छ । आधुनिक र परम्परागत दुबै प्रकारका सीप सिकाउने तालिमका माध्यमबाट युवा पुस्ताले देशकै उत्पादनशीलता र नवप्रवर्तनशीलतामा योगदान पुर्याउन मद्दत गर्दछ । साथै, परम्परागत ज्ञानलाई व्यावसायिक रूपले प्रयोग गरेर विदेशी मुद्रा आम्दानीका नयाँ मार्गहरू खोल्न सकिनेछ। डिजिटल उद्यमशीलता र अनलाइन व्यवसायका पहलहरूले देशलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने र रोजगारीका अवसरहरू सिर्जना गर्ने विश्वास दिलाउने सम्भावना र
अवसर बढेर जान्छ । हाम्रो भूमिबाट नै अन्तर्राष्ट्रिय व्यापारलाई जोड्न आयआर्जन गर्न सकिनेछ।
१ कुण्डली ज्योतिष र वास्तुशास्त्रका ज्ञानलाई डिजिटल प्लेटफर्ममा एकीकृत गरी
विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रममा समावेश गर्नेः
परम्परागत ज्ञानलाई आधुनिक बनाउँदै, विद्यालय तहदेखि नै पाठ्यक्रममा गणित ज्योतिष फलित ज्योतिष अन्तर्राष्ट्रिय
खगोल ज्योतिष लगायत विशिष्ट विषयहरूको पठनपाठन गर्न सकिन्छ। कुण्डली, ज्योतिष र वास्तुशास्त्रका ज्ञानलाई डिजिटल प्लेटफर्ममा सारांशित गरी अनलाइन परामर्श सेवा सञ्चालन गर्न सकिन्छ। यसबाट विद्यार्थीहरूले पढाइको सँगसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय
रुपमा अनलाइन सेवाबाट पढ्दै कमाउने अवसरलाई उपयोग गर्न सक्दछन् । सैद्धान्तिक
बेरोजगारी पढाइबाट वाक्क दिक्क भई विद्यार्थीहरू विदेशीने क्रम बढिरहेको समयमा विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै यस्ता
परम्परागत ज्ञान प्रविधिसँग जोडेर उनीहरुले विदेशी तथा स्वदेशीहरूको कुण्डली चिना
ज्योतिष वास्तुशास्त्र तथा खगोलीय कार्यहरू गरी नेपालमै बसेर अन्तर्राष्ट्रिय आम्दामी भित्र्याउन सक्दछन् । विभिन्न अनुभवी विशेषज्ञहरूले सेमिनार, कार्यशाला र इबुक तथा भिडियो कोर्समार्फत विद्यार्थीहरूलाई व्यावसायिक तरिकाले यस ज्ञानलाई उपयोग गर्न सिकाउन सक्नेछन्। यसले देशभित्रै वैकल्पिक आयस्रोतको विकासमा ठूलो योगदान पुर्याउनेछ र स्वदेशमै विदेशी मुद्रा आम्दानीका नयाँ मार्गहरू खोल्नेछ।
२ शिक्षामा सीप र
जीवनोपयोगी डिजिटल शिक्षाको एकीकृत उपयोग गर्ने ।
विद्यालय तहदेखि नै कृषि तथा जीविकोपार्जन सदन उद्यमी सदन ललित कला सदन आइटी
सदन जस्ता सदनहरू गठन गरी सैद्धान्तिक शिक्षा सँगसँगै व्यवहारिक सिपयुक्त र
व्यावसायिक शिक्षा मार्फत
एक
विद्यालय एक उद्यमका कार्यक्रम सञ्चालन गरी बालबालिकालाई मनि म्यानेजमेन्ट सेभिङ्ग
तथा उद्यमसँग सम्बन्धित कोर्स डिजाइन गरी कार्यान्वयनमा ल्याउनु जरुरी छ। प्राथमिक विद्यालयदेखि नै व्यावसायिक सीप सिकाउने पाठ्यक्रम निर्माण गर्नुपर्छ जसमा भिडियो एडिटिङ, ग्राफिक डिजाइन, एप विकास, गेम डिजाइन जस्ता सीपहरू समावेश गरिनुपर्छ। स्थानीय उद्योगहरूसँग सहकार्य गरेर तालिम पश्चात् युवाहरूलाई रोजगारीका स्वरोजगारीको अवसरहरू उपलब्ध गराउन सकिन्छ। नगदमा आधारित तालिम कार्यक्रमहरू सञ्चालन गरेर विद्यार्थीहरूलाई दैनिक जीवनका लागि आवश्यक सीप सिकाउन सकिन्छ जसले स्वरोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न सहयोग पुर्याउँदछ । साथै, अनलाइन र अफलाइन तालिमको समन्वयले विद्यार्थीहरूलाई
सर्वाङ्गीण तरिकाले सीप सिक्ने अवसर उपलब्ध गराउँदछ । स्वदेशमै सिप उद्दमशीलता स्वरोजगार
रोजगारको अवसर प्राप्त हुन सके वैदेशिक रोजगारी तथा अध्ययनमा जाने लहर र लर्कोलाई
केही हदसम्म आफ्नै गाउँ ठाउँमा टिकाउन सिकाउन र बिकाउन सकिन्छ।
३ नेचर र कल्चरको प्रवर्द्धन
एग्रोटोरिजम तथा इकोटोरिजमका माध्यमबाट ग्रामीण उत्पादन र पर्यटनमा आधारित स्वरोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ। ग्रामीण क्षेत्रमा उपलब्ध कृषि, हस्तकला र परम्परागत व्यवसायलाई आधुनिक प्रविधिसँग संयोजन गरेर उत्पादनमा वृद्धि र गुणस्तर सुधार गर्न सकिन्छ। ग्रामीण जीवनशैली, जैविक खेती र परम्परागत भोजनको अनुभवमा आधारित एग्रोटोरिजम परियोजनाहरू सञ्चालन गर्दा पर्यटकहरूलाई आकर्षित गर्न सिकन्छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न साथै, डिजिटल प्लेटफर्ममार्फत ग्रामीण पर्यटन र इकोटोरिजम सम्बन्धी भिडियो,डकुमेन्ट्री लेख र फोटो सामग्री उत्पादन गरी, प्रायोजकत्व र विज्ञापनमार्फत आम्दानीका नयाँ अवसरहरू सिर्जना गर्न सकिन्छ।
४ उद्यमशीलता प्रवर्द्धन र विकास
अहिलेको पुस्ता डिजिटल पुस्ताको रूपमा परिचित छ। यो पुस्ताको सोचलाई इन्टरनेट
र अनलाइनसँग जोड्न सक्नुपर्दछ। जसको लागि उद्यमशीलता र स्टार्टअप इकोसिस्टमलाई मजबुत बनाउन सरकारी अनुदान, ऋण सुविधा, स्टार्टअप इनक्युबेटर र सार्वजनिक-निजि साझेदारीका माध्यमबाट नयाँ व्यवसायिक मोडेलहरू विकास गर्नु सकिन्छ । विश्वविद्यालय र प्राविधिक संस्थाहरूसँग सहकार्य गरी इनक्युबेटर र एक्सेलेरेटर कार्यक्रम सञ्चालन गर्दा युवा विद्यार्थी उद्यमीहरूलाई आफ्नो नवप्रवर्तनशील विचारहरूलाई व्यावहारिक बनाउन सहयोग पुर्याउन सकिन्छ। साथै, उद्यमशीलता सम्बन्धी प्रशिक्षण र सार्वजनिक-निजि साझेदारी मार्फत आवश्यक लगानी र प्राविधिक सहयोग उपलब्ध गराउन सकिन्छ।
५ डिजिटल शैक्षिक मेला
अनलाइन प्लेटफर्म र डिजिटल उद्यमशीलतामा जोड दिनु अत्यावश्यक छ। वेबसाइट, मोबाइल एप, ई-कमर्स र अनलाइन परामर्श सेवाहरूको विकासमार्फत युवा वर्गलाई डिजिटल उद्यमी बन्ने अवसरहरू उपलब्ध गराउन सकिन्छ। अनलाइन प्लेटफर्ममार्फत डिजिटल मार्केटिङ, ब्रान्डिङ र भिडियो ट्यूटोरियल तथा वेबिनारका कोर्सहरू सञ्चालन गर्दा विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्ने सीप सिकाउन सकिन्छ। नेपाली भाषामा तयार गरिएका सामग्रीहरूले देशभरका अन्तर्राष्ट्रिय स्तरमा बसोबास गर्ने
नेपाली भाषी विद्यार्थीहरूलाई सजिलै उपलब्ध हुन सक्दछ।
सरकार र नीजि क्षेत्रबीचको सहकार्यलाई बलियो बनाउँदै, दीर्घकालीन नीति सुधार, वित्तीय सहुलियत र नियमनमार्फत, वैदेशिक रोजगारीमा निर्भरता घटाउन सकिनेछ। श्रम बजार तथा उद्यमशीलता नीतिहरूलाई अद्यावधिक गर्दै, डिजिटल, कृषि, हस्तकला र पर्यटनका क्षेत्रहरूमा विशेष कर छुट तथा वित्तीय सहयोग प्रदान गर्न आवश्यक छ। विभिन्न मन्त्रालय, स्थानीय सरकार र नीजि क्षेत्रबीचको समन्वय र निगरानी प्रणालीले नीति क्रियान्वयनलाई पारदर्शी र प्रभावकारी बनाउन सघाउ पुग्दछ।
स्थानीय स्तर र सामुदायिक सहभागितामा जोड दिनु पनि महत्वपूर्ण छ। ग्रामीण क्षेत्रका कृषक, हस्तशिल्पी र स्थानीय उद्योगहरूलाई तालिम, सहयोग र सामूहिक लगानीका माध्यमबाट स्वरोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ। गाउँदेखि गाउँसम्म सहरदेखि विश्व
गाउँसम्म उद्यमशीलता र स्वरोजगारीका कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय उत्पादन र व्यवसायमा सुधार आउनेछ। यस कार्यहरूबाट केही हदसम्म वैदेशिक अध्ययन र
रोजगारीमा जाने युवा पलायनलाई
रोक्न
सक्ने सम्भावना हुन सक्दछ।
निष्कर्ष
नेपालको युवा र विद्यार्थी शक्ति हाम्रो देशको भविष्य हो । तर,
वैदेशिक रोजगारी र अध्ययनको बढ्दो प्रवृत्तिले देशको श्रमशक्ति, उत्पादनशीलता र सामाजिक संरचनामा गम्भीर असर पुर्याइरहेको छ । अध्ययन अनुसार दैनिक करिब १५०० जना युवाको विदेश प्रस्थानले दीर्घकालीन आर्थिक असन्तुलन, घरेलु उद्योगको कमजोरी र सामाजिक असमानता निम्त्याउने सम्भावना रहेको तथ्यले देखाउँछ । यदि स्वदेशमै उत्पादन र स्वरोजगारीका अवसरहरू सिर्जना गरियो भने, आत्मनिर्भरता र दीर्घकालीन समृद्धि सम्भव हुनेछ।
हाम्रो पाठ्यक्रममा डिजिटल प्रविधि र एआइ समावेश गरि परम्परागत ज्ञानलाई आधुनिक व्यापारिक मोडेलमा परिणत गर्ने, प्रारम्भिकदेखि व्यावसायिक तालिम र नगदमा आधारित तालिमका कार्यक्रमहरू सञ्चालन गर्ने, एग्रोटोरिजम तथा इकोटोरिजमका परियोजनाहरूले ग्रामीण उत्पादन र पर्यटनलाई प्रवर्द्धन गर्ने, र उद्यमशीलता तथा स्टार्टअप इकोसिस्टमलाई बलियो बनाउने उपायहरूले देशलाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउने दिशामा डोर्याउन सकिन्छ।
सरकार, नीजि क्षेत्र, शैक्षिक संस्था र स्थानीय समुदायबीच निरन्तर सहकार्य र संवादमार्फत, यी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने, नेपाली युवाले स्वदेशमै उच्च आम्दानी र रोजगारीका अवसरहरू प्राप्त गर्नेछन्। यसले देशको आर्थिक विकास, सामाजिक समावेशीकरण र सांस्कृतिक पहिचानमा सकारात्मक परिवर्तन ल्याउनेछ।
नेपालका नीति निर्माताहरू, शिक्षकहरू, उद्यमी र स्थानीय समुदायबीचको एकताबद्ध प्रयासले मात्र नेपाली युवालाई विदेश नजान, आफ्नै पैतृक/ मातृ भूमिमा उज्जवल भविष्य निर्माण गर्ने वातावरण प्रदान गर्न सकिन्छ। आजको चुनौतीलाई समाधान गर्न र भविष्यका अवसरहरूलाई आत्मसात् गरि कुरा भन्दा काम र
प्रक्रियाभन्दा नतिजालाई जोड दिएर
प्रभावकारी
रुपमा कार्यान्वयन गर्न आवश्यक छ । यदि नेपालले आफ्नो युवा शक्ति र प्राकृतिक, सांस्कृतिक सम्पदाको सदुपयोग गर्दै, स्वदेशी उत्पादन र उद्यमशीलताका यी कदमहरूलाई प्राथमिकता दियो भने, वैदेशिक रोजगारीमा निर्भरता घट्दै देशले आत्मनिर्भर र समृद्ध राष्ट्र बन्ने दिशामा ठोस प्रगति गर्नेछ ।
गोविन्द कार्की

.jpeg)
0 Comments