कक्षा कोठा विद्यार्थी जीवनमा सबैभन्दा धेरै समय व्यतित गर्ने स्थान हो । यहाँ विद्यार्थीले रुपान्तरण र आवश्यक सिप र चेतना विकास गर्छन् । कक्षा कोठा केवल ज्ञानको थलो मात्र होइन, संसार उज्यालो बनाउने विश्व मष्तिष्क निर्माणको थलो पनि हो ।
एक कुशल शिक्षकको मिहेनतले विद्यार्थीलाई भविष्यमा संसार हाक्न सक्ने क्षमतावान जनशक्ति बनाउन मद्दत गर्दछ । विद्यालयको कक्षा कोठा एक यस्तो ठाउँ हो जहाँ भविष्यका नेता, विचारक र परिवर्तनकारीहरुले प्रारम्भिक सिकाइ हासिल गर्छन् । त्यसैले कक्षा कोठाको सजावट, डिजाईन र कक्षा व्यवस्थापनको समग्र पक्षलाई ध्यान दिनु जरुरी छ, ता की यीनै कक्षा कोठाबाट भविष्यमा आआफ्ना क्षेत्रका लागि तयार हुने जनशक्ति अब्बल होउन् ।
त्यसैले आजका कक्षा कोठामा विद्यार्थीको उर्वर क्षमतालाई सदुपयोग गर्न विस्तृत योजना, नीति तथा कार्यक्रम तय गर्न जरुरी छ ।
विद्यार्थीलाई कक्षा कोठामा Quality Time कसरी उपलव्ध गराउने ?
कक्षा कोठामा विद्यार्थीलाई उपयुक्त व्यवस्थापन गरी प्रभावकारी कक्षा सञ्चालन गर्नु एक शिक्षकको लागि निकै नै चुनौतीपूर्ण कार्य हो । विद्यार्थीको ध्यानाकर्षण गरी गुणस्तरीय क्रियाकलाप मार्फत गुणस्तरीय समय प्रदान गर्नु वास्तवमा फलामकै च्यूरा चपाए सरह हुन्छ ।
बालबालिकाहरु स्वभावैले अत्यन्त चञ्चले हुन्छन् उनीहरुको मनोभावना बुझेर क्वालिटी कन्भरसेसन मार्फत क्वालिटि एजुकेसन प्रदान गर्न शिक्षकले निकै मेहनत गर्नु पर्दछ । यसका लागि शिक्षक अथाह धैर्यता र लगनशिलताको गुणले समेत सुसज्जित हुनुपर्दछ । शिक्षकहरुसँगको भेटघाट, अन्तरङ्ग तथा छलफलमा कक्षा कोठाको शिक्षण कार्यमा सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण कार्य के हो ? भनेर सोध्दा विद्यार्थीलाई आफ्नो पिरियड भरि कक्षामा कण्ट्रोल गर्नु निकै कठिन हुने साझा जवाफ आउँछ ।
त्यसो त म कण्ट्रोल शब्दमा पुरातन सुगन्ध पाउँछु । यस कार्यलाई नविनतम शिक्षण विधिको आँखि झ्यालबाट चिहाउने कोशिस गर्ने हो भने अबको बहस विद्यार्थीलाई कण्ट्रोल भन्दा पनि हामीले कक्षा कोठामा quality conversation, quality activities, quality time and quality education मा फोकस गर्न र कक्षा कोठालाई विद्यार्थी केन्द्रित क्रियाकलपद्वारा अर्थपूर्ण सहभागिता गराउन जरुरी छ । शिक्षक विद्यार्थीको लागि पथ प्रदर्शक र मार्गदर्शकको अवतारको रुपमा रहेको हुन्छ । तसर्थ शिक्षकले बालबालिका विद्यालयामा आउँदा खुसी हुने वातावरण सिर्जना र माहोल तयार पार्नु पर्दछ ।
बगर खेतलाई सम्याएर रोपाई गर्न निरन्तर पानीको सिँचाई तथा पर्याप्त गोडमेल गरी किसाानले राम्रो फसल भित्र्याउँछ त्यस्तै असल शिक्षककले विद्यार्थीको शैक्षिक गोडमेल द्वारा गुणस्तरीय उच्च नतिजाको फसल प्राप्त गर्न सक्नु पर्दछ ।
स्काभेटरले अन्धाधुन्ध भत्काएर विकास गरे जस्तो शिक्षकले बालबालिकाहरुलाई बिना शैक्षिक योजना अन्धाधुन्ध अध्यापन गराए विद्यार्थीको मानसिक शारीरिक तथा वौद्धिक विकास लथालिङ्ग हुन जान्छ । सबैको भलाइ हुने शिक्षा र ज्ञानले उनीहरूको मस्तिष्कलाई सुसज्जित बनाई विश्वको जुनसुकै जनशक्तिसँग सकरात्मक प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्दछ । गत बर्षको कक्षा १० को अन्तिम नतिजा विश्लेषण गर्दा परीक्षामा सहभागी भएको मध्य झण्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात कक्षा ११ पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार कक्षा ११ पढ्न नपाउने ग्रेड ल्याएको अर्थात नन् ग्रेडेड परीक्षार्थीको संख्या ५२ प्रतिशत भन्दा बढी देखिएको छ । यसरी कम उपलव्धि प्राप्त हुनुले हाम्रो शिक्षा प्रणाली र कक्षा कोठाको शिक्षण पद्धति निकै मक्किसकेको छ भन्न सकिन्छ । समयमै त्यस्ता धमिराको पहिचान गरी दीर्घकालीन शैक्षिक विकासको महामार्ग कोरिनु पर्दछ ।
आधारभूत तह कक्षा ८ को नतिजा समीक्षा गर्दा बालबालिकाको स्तर निकै नै खस्केको पाइएको छ । नेपालको अधिकांश विद्यालय निल गएका छन् यो नतिजाले भोलिको अन्धकार भविष्यको छनक/ संकेत दिइरहेको छ । हालै प्रकाशित एक रिपोर्ट अनुसार नेपालको बौद्धिक क्षमता (IQ Level) निकै दयनीय रहेको प्रष्ट छ । विशेष गरी गुणस्तरीय शिक्षाको सीमित पहुँचको कारण नेपालको बौद्धिक क्षमता पुच्छर तिरको स्थान भन्दा माथि उक्सिन नसकेको विश्लेषण गरिएको छ । हामीले उत्पादन गर्ने विद्यार्थीले भोलिको दिनमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने ल्याकत राख्छन् या राख्दैनन् ? भन्ने प्रश्न टड्कारो रूपमा हामी सामु छ ।
विद्यार्थीले आफ्नो घरमा बाहेक सबै भन्दा धेरै समय व्यतीत गर्ने स्थान भनेको उनीहरूको विद्यालय र विद्यालय मध्येको पनि कक्षा कोठा हो । बालबालिकाले आफ्नो जीवनभरमा कक्षा कोठमा औसत बिताउने समय ३० हजार घण्टा हुने अध्ययनले देखाएको छ । साधारणतया विद्यार्थीले कक्षा १ देखि १० सम्म अध्ययन गर्दा आफ्नो जीवनमा औसत १६००० देखि २० हजार घण्टा विद्यालयको कक्षा कोठामा बिताउने अध्ययनहरुले देखाएका छन् । विद्यार्थीले व्यतीत गर्ने यो अमूल्य समयमा उनीहरूले गुणस्तरीय शिक्षा गुणस्तरीय समय गुणस्तरीय क्रियाकलाप र गुणस्तरीय वार्तालाप तथा छलफलहरु कसरी गरिरहेका छन् र यसले गुणस्तरीय शिक्षामा कस्तो प्रभाव पार्दछ ? पूर्वीय दर्शनमा विद्यार्थीको पाँचवटा लक्षण हुन जरुरी छ भनिएको छ ।
काकचेष्टा बकोध्यानं श्वाननिद्रा तथैव च।
अल्पहारी गृहत्यागी विद्यार्थी पंचलक्षणम्।।
हिजो आजका विद्यार्थीमा यी लक्षणहरु कमै मात्रामा पाइन्छ । कक्षा कोठामा गुणस्तरीय समय प्रदान गर्न शिक्षकको मात्र मुख्य भूमिका रहदैँन विद्यार्थी स्वयम जागरुक र जिज्ञासु हुनु पर्दछ । विद्यार्थीलाई जागृत बनाउन शिक्षक र अभिभावक दबैले आफ्नो कर्तव्य निर्वाह गर्नु पर्दछ । यसकारण विद्यार्थीको ध्यान केन्द्रित गरी गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक र विद्यार्थीले देहायको श्लोकलाई समेत ध्यान दिनु पर्दछ ।
आचार्यात् पादमादत्ते पादं शिष्यः स्वमेधया ।
पादं सब्रह्मचारिभ्यः पादं कालक्रमेण च ।।
अर्थातः (विद्यार्थी आफ्नो एक–चौथाई ज्ञान आफ्नो गुरुबाट प्राप्त गर्छ, एक चौथाई आफ्नो बुद्धिबाट, एक–चौथाई आफ्नो सहपाठीहरू र एक–चौथाई समयको साथ (कालक्रम, अनुभवबाट प्राप्त गर्दछ) । शिक्षकको गहिरो ज्ञान विद्यार्थीलाई हस्तान्तरण गर्न जरुरी छ गहिरो ज्ञान अर्थात गुणस्तरीय समय ।
कक्षा कोठालाई थप प्रभावकारी बनाउन शिक्षकले पढाउने भन्दा पनि सिक्ने र सिकाउने वातावरणको सिर्जना गर्नु पर्दछ । नियमित नविन पुस्तक, अनुसन्धान, लेख तथा रचना पढ्न प्रोत्साहित गर्न आवश्यक छ । शिक्षकहरु ज्ञान र सीपको खजनाको रुपमा स्थापित हुन पर्दछ । जब ज्ञान र श्रोतबाट स्खलित भएर कक्षा कोठामा प्रवेश गरिन्छ तब मान, मूल्य मान्यता तथा प्रतिष्ठामा गहिरो धक्का पुग्दछ । शिक्षक सधै अपडेट हुन पर्दछ, आफूले आफैँलाई अपडेट राख्नु पर्दछ । यसैगरी कक्षा कोठालाई प्रभावकारी ढङ्गबाट शिक्षण गर्नलाई एक्काइसौं शताब्दीका सीपहरु तथा इनोभेटिभ शिक्षणको कार्यान्वयन बाट सुझावहरुमा सधै अपडेट रहनु एक असल शिक्षकको काम कर्तव्य पनि हुन आउँछ ।
विगत १० वर्ष को अध्ययनलाई समीक्षा गर्ने हो संसारमा धेरै कुराहरु परिवर्तन भईसकेको छ । परिवर्तनशीलता संसारको नियम नै हो । शासन व्यवस्थाको परिवर्तन हामीले अनुभव गर्यौ । विकासको विकल्पहरु धेरै परिवर्तन भईसक्यो भारि बोक्ने भरिया देखि रोवर्ट सम्म, सामान्य ज्ञान देखि जेनेरेटिभ ए.आई (Artificial intelligence) सम्म, बाबालिकाको मस्तिष्क तथा सोच्ने क्षमता समेत पहिलेको भन्दा परिवर्तन भएको छ । पाठ्यक्रम, शिक्षकले पढाउने पाठ्यपुस्तक समेत परिवर्तन भएको अनुभव गर्यौँ तर आज सम्म एउटा विषय परिवर्तन भएको छैन त्यो हो हामीले पढाउने तरिका । विगत एक दशकमा ढुङ्गा चोइटिएर माटो बन्ने प्रक्रिया निरन्तर भइरहेको छ तर कक्षा कोठामा पढाउने तरिका बहुसंख्यक विद्यालयमा उस्तै छ, पुरानो प्रवचन विधि । यस विधिको प्रयोग मार्फत् हामी शिक्षकहरुले गुणस्तरीय समय साटासाट गर्न सक्दैनौँ ।
बालबालिकाको मस्तिष्क निर्माण गरी उनीहरुको सकारात्मक विचार उत्पादन गर्ने प्रयोगशाला कक्षा कोठा हो । हामीले कक्षा कोठा भित्र उत्पादन गरेको मस्तिष्कहरुले भविष्यमा विश्व हल्लाउने छन् । यसरी विश्व मस्तिष्क निर्माण गर्ने स्थानमा शिक्षकहरुले उल्लेखित कार्यलाई अवलम्बन गर्न सक्नु पर्दछ ।
Quality Classroom Framework

Quality Education : विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरूले नवीनतम शिक्षण विधिहरू प्रयोग गर्नुपर्छ । यसमा विभिन्न प्रकारका शिक्षण सामग्री, प्रायोगिक गतिविधिहरू र प्राविधिक साधनहरूको समावेश गर्नुपर्छ ।
Quality Innovation : शिक्षामा नवाचारले विद्यार्थीको सिकाइलाई रोचक र प्रभावकारी बनाउँछ । नयाँ तरिकाहरू अपनाएर, विद्यार्थीको रुचि र चञ्चलतालाई सम्बोधन गर्न सकिन्छ ।
Quality Time : विद्यार्थीको ध्यान केन्द्रित राख्न र उनीहरूको रुचिलाई सम्बोधन गर्न शिक्षकले उनीहरूसँग गुणस्तरीय समय बिताउनु पर्छ । यसमा व्यक्तिगत ध्यान, प्रोत्साहन र सहकर्मी शिक्षणले महत्वपूर्ण भूमिका खेल्छ ।
Quality Conversation : कक्षा कोठामा सकारात्मक वार्तालापको वातावरण सिर्जना गर्नु पर्छ । यसले विद्यार्थीको आत्मविश्वास बढाउँछ र उनीहरूलाई खुला रूपमा आफ्नो विचार व्यक्त गर्न प्रोत्साहित गर्दछ ।
Quality Activities : विद्यार्थीको सिकाइलाई सक्रिय बनाउन विभिन्न क्रियाकलापहरू समावेश गर्नु पर्छ । समूह कार्य, परियोजना, खेलकुद, र प्रयोगात्मक कार्यहरूले उनीहरूको सीप र ज्ञानमा वृद्धि गर्दछ ।
Quality Environment : कक्षा कोठाको वातावरण स्वच्छ, सुरक्षित, र प्रेरणादायी हुनुपर्छ । सकारात्मक वातावरणले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । कक्षा कोठामा गुणस्तरीय समय, शिक्षा, नवाचार, वार्तालाप, क्रियाकलाप र वातावरणको व्यवस्थापन गरी हामी विद्यार्थीको उज्ज्वल भविष्यको निर्माण गर्न सक्छौं । शिक्षकहरूको अथक प्रयास र लगनशीलताले मात्र कक्षा कोठालाई वास्तविक ज्ञानको केन्द्र बनाउन सकिन्छ ।
शिक्षकहरुले विद्यार्थीलाई कक्षा कोठामा Quality Time उपलव्ध गराउनका लागि निम्नलिखित तरिकाहरु अपनाउन सकिन्छः
१. पाठ योजनाको तयारीः शिक्षकले प्रत्येक कक्षाको लागि आफूले अध्यापन गर्ने सम्पुर्ण विषयको वार्षिक पाठ्ययोजना बनाउनु पर्छ । यसले तोकिएको निर्दिष्ट विशिष्ट उद्देश्य पूरा गर्न, इनोभेटिभ शिक्षण सिकाइ क्रियाकलाप निर्माण गरी सिकाइ उपलब्धि शत प्रतिशत पुरा गर्नको लागि तथा कक्षामा समयको सदुपयोग गर्न मद्दत पुर्याउँछ ।
२. व्यवहारिक गतिविधिहरू ः पाठ्यक्रमलाई रोचक बनाउनका लागि व्यावहारिक गतिविधिहरू समावेश गर्नुपर्छ । उदाहरणका लागि, समूह कार्य, प्रोजेक्ट, प्रयोगशाला कार्य आदि ।
३. सक्रीय सिकाइः विद्यार्थीलाई प्रश्न सोध्न, विचार व्यक्त गर्न र समूहमा छलफल गर्न, कल्पनाशिल बनाउन प्रोत्साहित गर्नुपर्छ ।
४. प्रविधिको प्रयोगः स्मार्ट बोर्ड, प्रोजेक्टर, ए. आई र अन्य डिजिटल उपकरणहरुको प्रयोगले पाठ्यक्रमलाई अधिक आकर्षक बनाउन सक्छ ।
५. व्यक्तिगत ध्यानः प्रत्येक विद्यार्थीको प्रगति र आवश्यकता अनुसार व्यक्तिगत ध्यान दिनुपर्छ । कमजोर विद्यार्थीलाई अतिरिक्त सहयोग उपलब्ध गराउनुपर्छ ।
६. प्रेरणा र प्रशंसाः विद्यार्थीलाई प्रोत्साहित गर्न र सानोतिनो उपलब्धिहरुको पनि प्रशंसा गर्नुपर्छ । यसले उनीहरुको आत्मविश्वास बढाउँछ ।
७. स्वास्थ्य र विश्रामः कक्षामा पर्याप्त ब्रेक र शारीरिक गतिविधिहरू समावेश गर्नुपर्छ जसले विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यलाई ध्यानमा राख्छ ।
८. सकारात्मक वातावरणः कक्षा कोठामा सकारात्मक र समावेशी वातावरण सिर्जना गर्नुपर्छ । यसले विद्यार्थीलाई सहज र सुरक्षित महशुस गराउँछ ।
९. फिडब्याक र सुधारः विद्यार्थीलाई नियमित फिडब्याक दिनुपर्छ र उनीहरुको सुझावलाई कक्षाको गुणस्तर सुधार्न प्रयोग गर्नुपर्छ।
१०. संसाधनहरूको सदुपयोगः पुस्तकालय, अनलाइन स्रोत, र अन्य शैक्षिक सामग्रीहरुको सदुपयोग गर्नुपर्छ । उपलब्ध स्रोत साधनको प्रयोग गर्न सक्ने सीपको विकास गराई विद्यार्थीको चौतर्फी विकासमा सघाउ पुर्याउन सकिन्छ ।
११. गृहकार्य र परियोजनाः गृहकार्य र परियोजनालाई सिकाइमा समावेश गर्नुपर्छ । विद्यार्थीलाई विषयवस्तुमा आधारित परियोजना कार्य दिने, गृहकार्यलाई न्यूनीकरण गर्दै व्यावहारिक कार्यमा जोड दिने आदि विधिहरूले उनीहरुको सिकाइलाई सुदृढ बनाउँछ ।
निष्कर्ष
प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्मको सिकाइमा हामीले शत प्रतिशत विद्यार्थीलाई पाठ्यक्रमले निर्दिष्ट गरेको सक्षमता पूरा गर्न सक्ने बहुप्रतिभावान, क्षमतायुक्त, बहुबुद्धिमत्ता, सबल र सक्षम विद्यार्थीको रुपमा उत्पादन गर्नु पर्दछ । शिक्षकले सिकारु प्रति उत्तरदायी भई आफ्नो ज्ञान र विज्ञान मार्फत विद्यार्थीलाई सकारात्मक र उर्जाशील बनाई कक्षा कोठाबाट संसारलाई परिवर्तन गराउन सक्छ । कक्षा कोठामा विद्यार्थीलाई गुणस्तरीय समय उपलब्ध गराउन शिक्षकको धैर्यता, लगनशीलता, र नवीनतम शिक्षण विधिहरूको प्रयोग आवश्यक छ ।
कार्की, रौतामाई गाउँपालिका उदयपुरका शिक्षा अधिकृत हुन् ।

.jpeg)
0 Comments