
विषय प्रवेश
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला उदयपुरको अध्यक्ष मेरा श्रद्धय गुरु श्री देवीबहादुर राई सरले मलाई फोन गर्नुभयो। उहाँले एक शुभ समाचार सम्प्रेषण गर्नुभयो । संगठनबाट एक स्मारिका प्रकाशन गर्ने । यो बहुतै खुसीको कुरा थियो । पठन संस्कृति हराउँदै गएको समयमा शैक्षिक वाङमयमा प्रागिकहरूको आलेख सहितको स्मारिका आउनु उदयपुर जिल्लाकै लागि खुसीको सुसमाचार हो । उहाँले मलाई पनि एक समसामयिक आलेखतयार गर्न लागि अनुरोध गर्नुभएको थियो । मेरो लागि यो अवसर प्रदान गर्नुभएकोमा खुसी व्यक्त गर्दै तयार गर्ने वचन प्रदान गरेको थिए। के लेखौँ कसो लेखौँ मनमा खुल्दुली आइरहेको थियो। शिक्षण सेवामा प्रवेश गर्ने इच्छा रहेका, शिक्षण सेवामा प्रवेश गरेका नवप्रवेशी शिक्षक, शिक्षण पेशामा रमाइरहेका बौद्धिक व्यक्तित्व तथा शैक्षिक अभियन्ताहरुलाई केन्द्रमा राखेर एउटा लेख लेख्न निकै अगाडिदेखि इच्छा जागिरहेको थियो । यसै सन्दर्भमा मक्किएको शिक्षण विधिको प्रयोगलाई कक्षाकोठाबाट विस्थापन गर्दै कसरी नवप्रवर्तनात्मक शिक्षण विधिको प्रयोगहरूको माध्यमबाटगुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयको आलेख तयार गर्न विषयवस्तुलाई गहिराईमा गम्न थाले । पाउलो फ्रेरेको Pedagogy of the Oppressed (उत्पीडितहरूको शिक्षा शास्त्र) पुस्तक शिक्षाशास्त्रको अध्येता, विद्यार्थी तथा अनुसन्धानकर्ता सबैले सुनेकै विश्व विख्यात पुस्तक हो। यो पुस्तक अनलाइनमा / इन्टरनेटमा सहजै र निःशुल्क रुपमा उपलब्ध छैन । अध्ययन गर्नको लागि पेडभर्जनको सिस्टममार्फत अध्ययन गर्न पाइन्छ। पुस्तकको पछिल्लो संस्करण निःशुल्क रूपमा जहाँ तहाँ उपलब्ध नहुने भएको कारण यस पुस्तकमा उल्लेखित बैंक डिपोजिट मोडलको विषयलाई परिधिमा राखेर आलेख तयार गर्ने गरेको छु । Pedagogy of the Oppressed (उत्पीडितहरूको शिक्षा शास्त्र) सन् १९७० मा प्रकाशित एक क्रान्तिकारी शिक्षा दर्शन हो जसले परम्परागत शिक्षा प्रणालीमाथि गहिरो प्रश्न उठाउँछ। यो ग्रन्थ विशेष गरी समाजमा रहेका उत्पीडित समुदायहरूलाई चेतनशील बनाउन र तिनीहरूको मुक्ति सुनिश्चित गर्न शिक्षाको प्रमुख भूमिका माथि केन्द्रित छ।
बैंकिङ कन्सेप्ट - बैंक डिपोजिट मोडेल
पाउलो फ्रेरेले परम्परागत शिक्षण प्रणालीलाई बैंक डिपोजिट मोडेलको संज्ञा दिएका छन्। यस मोडेलमा शिक्षकलाई सर्वज्ञाता (all-knowing) मानिन्छ भने विद्यार्थीहरूलाई केवल जानकारी भण्डारण गर्ने पात्र (passive receiver) को रूपमा लिइन्छ। फ्रेरेले यो शिक्षण प्रणालीलाई निरंकुश, असमानता पैदा गर्ने, र सृजनात्मक सोचलाई दमन गर्ने प्रणालीको रूपमा आलोचना गरेका छन्। पाउलो फ्रेरे (Paulo Freire) ले १९७० मा प्रकाशित Pedagogy of the Oppressed पुस्तकमा यस प्रकारको शिक्षण पद्धतिलाई बैङ्किङ कन्सेप्ट भनेर आलोचना गरेका थिए। यस मोडेलमा शिक्षकलाई ज्ञानको एकमात्र स्रोतको रूपमा प्रस्तुत गरिन्छ र विद्यार्थीहरूलाई केवल सूचनाको भण्डारण गर्ने पात्रको रूपमा हेरिन्छ। यस्ता शिक्षण पद्धतिले विद्यार्थीहरूको आलोचनात्मक सोच, सिर्जनात्मकता, र समस्या समाधान गर्ने क्षमतालाई दबाउँछने गर्दछ । नेपालमा परम्परागत शिक्षण प्रणालीले अझै पनि बैंक डिपोजिट मोडेललाई अङ्गिकार गरेको देखिन्छ। विद्यालयहरूमा रटान (सुगा पाठ्यक्रम) को कार्यान्वयनले एकतर्फी शिक्षक-विद्यार्थी संवाद, र परम्परागत मूल्याङ्कन विधिहरूले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गर्ने मसिन बनाइरहेको छ। यद्यपि, नयाँ पुस्ताहरू विशेष गरी जेड Zen पुस्ताहरु र Alpha पुस्ताहरूले परिवर्तनशील, सहभागी र नवप्रवर्तनात्मक शिक्षण विधिहरूलाई रुचाउँछन्। तिनीहरूले ज्ञानको खोजीमा सक्रिय भागीदारी, अनुभवमूलक सिकाइ, र आलोचनात्मक विश्लेषणलाई प्राथमिकता दिन्छन् ।उनीहरू एक्काइसौँ शताब्दीका सीप हासिल गर्न सिक्न रमाउँछन्। तर कक्षा कोठामा बैंकिङ कन्सेप्टले शोषण गरिरहेको अवस्था छ । रचनात्मक रिफ्लेक्टिभ, कल्पनाशील अनन्त सोचाईका क्रियाकलापहरू न्यून प्राय छन्। शिक्षा मात्र ज्ञान हस्तान्तरणको माध्यम होइन यसले व्यक्तिको व्यक्तित्व, सोच, र सामाजिक मूल्यहरूको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छ। कक्षा कोठामा प्रयोग गर्ने शिक्षण विधि शिक्षकको रुचि भन्दा पनि विद्यार्थीको चाहना बमोजिम हुनुपर्दछ। संसारमा क्रान्ति र परिवर्तनको झिल्को बाल्न शिक्षकले समाज वा सरकारमा गइरहनुपर्दैन भन्ने मान्यता स्थापित हुँदै गएको छ। फ्रेरेको विचारमा समाजका विशृङ्खलाको अन्त्य गर्दै समाजिक न्याय कायम गरी ब्रह्माण्डको नेतृत्व स्थापित गर्ने थलोको रुपमा कक्षा कोठाहरूलाई विकास गर्न सकिन्छ। कक्षा कोठा र शिक्षण विधि एकअर्काको परिपूरक सम्बन्ध रहेको हुन्छ। शिक्षाको गुणस्तर शिक्षाको गुणस्तरभन्दा माथि हुन सक्दैन तसर्थ कक्षा कोठाबाट समाज र संसार परिवर्तन गर्न सक्ने प्रमुख रूपान्तरणको संवाहक रुपमा शिक्षक रहेका हुन्छन्। बैंकिङ कन्सेप्टको न्यूनीकरण तथा विस्थापनको लागि शिक्षक मात्र निर्विकल अस्त्र हो । पाउलो फेरेरेको भनाइ अनुसार बैंक डिपोजिट मोडललाई रूपान्तरणकारी शैक्षणिक विधिमा परिवर्तन गर्न शिक्षकहरूले निर्विकल्प रूपमा आफूले अध्यापन गराउँदाका विधि पद्धतिलाई समय सापेक्ष र विषयवस्तु अनुरूप परिवर्तन र प्रयोग गर्न जरुरी छ।
बैंकिङ्ग शिक्षा प्रणालीको विशेषताहरू
फ्रेरेको बैंकिङ शिक्षा प्रणालीमा निकै गहिराईमा आयामिक ढङ्गबाट बैंकिङ सिस्टमकोउल्लेख गरिएको छ । परम्परागत बैंकिङ्ग शिक्षा प्रणालीले शिक्षक र विद्यार्थीबीच गहिरो असमानता सिर्जना गरेको छ। यसमा मोडेलमा शिक्षकलाई ज्ञानको सर्वेसर्वा मानिन्छ, जसको भूमिका केवल सूचना प्रवाह गर्ने हुन्छ, विद्यार्थीहरूलाई एक खाली कागजको रूपमा लिइन्छ, जहाँ ज्ञान जम्मा गरिन्छ अर्थात शिक्षक ज्ञानको मुहान मानिन्छ र विद्यार्थीहरू केवल निष्क्रिय ग्रहणकर्ताका रूपमा रहने गर्दछन। यस्तो शिक्षाले विद्यार्थीहरूलाई सोच्न, विश्लेषण गर्न वा आफ्नो विचार व्यक्त गर्न अभिप्रेरित गर्दैन बरु उनीहरूलाई जानकारी भण्डारण गर्ने निष्क्रिय यन्त्रमा रूपान्तरण गर्छ। शिक्षालाई यान्त्रिक रूपमा ग्रहण गर्नुपर्ने बाध्यता सँगै विद्यार्थीहरूलाई सिर्जनात्मक चिन्तनबाट टाढा राख्छ, जसले उनीहरूको आत्मनिर्भर सोच क्षमतामा कमी ल्याउँछ। यस प्रणालीले विद्यार्थीहरूलाई ज्ञानको केवल निष्क्रिय उपभोक्ता बनाउँछ, न कि त्यसका सर्जक। बैंकिंग शिक्षाले आज्ञापालनलाई प्रोत्साहन गर्छ, जसमा विद्यार्थीहरूले शिक्षालाई प्रश्न गर्ने होइन, निःशर्त रूपमा स्वीकार्ने संस्कार विकसित गर्छन्। जब विद्यार्थीहरूलाई आफ्ना अनुभव वा विचार व्यक्त गर्ने अवसर दिइँदैन, तब उनीहरू स्वतन्त्र चिन्तन गर्ने क्षमताबाट वञ्चित रहन्छन्। यसको प्रत्यक्ष प्रभाव सामाजिक संरचनामा देखिन्छ, जहाँ यस्तो शिक्षा प्रणालीले उत्पीडित वर्गलाई सधैं शक्तिशालीहरुले निर्माण गरेको संरचनालाई स्वीकार गर्न बाध्य पार्छ। जब शिक्षाले मानिसहरूलाई निष्क्रिय बनाउँछ, तब सामाजिक परिवर्तनको सम्भावना न्यून हुन्छ। बैंकिंङ्ग शिक्षा प्रणालीले नैतिक रूपमा एकतरफा सन्देश प्रवाह गर्ने भएकाले, यसले सत्ताधारी समूहलाई आफ्नो प्रभुत्व कायमै राख्न मद्दत गर्छ, जसले वर्गीय भेदभावको अङ्कूरण अझ बलियो बनेर पलाउँछ। यसैले, बैंकिंग शिक्षाको आलोचना गर्दै फ्रेरेले संवादात्मक शिक्षाको परिकल्पना अघि सारेका छन्, जहाँ शिक्षक र विद्यार्थीबीच खुला संवादको माध्यमबाट ज्ञानको निर्माणर सिर्जना हुन्छ।
बैंकिंग शिक्षा प्रणालीको बहुआयामिक विश्लेषण
शिक्षा प्रणाली कुनै पनि समाजको शक्ति संरचना भित्रकै एक प्रमुख साधन हो। बैंकिंग शिक्षा प्रणाली सामाजिक नियन्त्रणको उपकरणका रूपमा कार्य गर्ने गर्दर्छ । जसले निम्न वर्गका विद्यार्थीहरूलाई उनीहरूको सामाजिक अवस्थालाई प्रश्न नगरिकन स्वीकार गर्न र अनुकूलन हुन सिकाउँछ। यस्तो प्रणालीले सत्ताधारी वर्गको शक्ति अझ सुदृढ बनाउँछ, किनकि यसले उत्पीडित समुदायलाई निष्क्रिय बनाइदिन्छ। मनोवैज्ञानिक रूपमा, बैंकिंङ्ग शिक्षाले विद्यार्थीहरूको आत्मविश्वासमा ह्रास ल्याउँछ। तिनीहरूले शिक्षालाई व्यक्तिगत सशक्तीकरणको साधनको रूपमा बुझ्नेभन्दा पनि एक बाहिरी नियन्त्रणको प्रणालीका रूपमा हेर्न थाल्छन्। यसले उनीहरूको सृजनशील क्षमतालाई अवरुद्ध गर्छ, जसले गर्दा स्वतन्त्र सोच, नवाचार, र आलोचनात्मक क्षमताहरूको विकास गर्न कठिनाइ हुन्छ। बालबालिकाको एक्काइसौँ शताब्दीका सीपहरू सिक्नुपर्नेमा उनीहरूको सृजनशीलतामा भुत्ते हतियारको जस्तो खियाले लेपन लागिदिन्छ । आर्थिक रूपमा, बैंकिंग शिक्षा प्रणाली श्रमिक उत्पादन गर्ने संयन्त्र जस्तै बन्न पुग्छ, जसले विद्यार्थीहरूलाई केवल विद्यमान आर्थिक संरचनामा समायोजन गर्न बाध्य पार्छ। यो प्रणाली उद्यमशीलताको विकासमा अवरोध सिर्जना गर्छ, किनकि विद्यार्थीहरूलाई नयाँ सोच वा नवप्रवर्तन (Innovation) गर्नभन्दा पनि श्रमिक तथा बन्धक बन्न तयार हुन सघाउ पुग्छ। शिक्षाशास्त्रीय दृष्टिकोणबाट हेर्दा, फ्रेरेको बैंकिंग शिक्षा प्रणालीमाथिको आलोचनाले शिक्षण विधिहरूमा क्रान्ति लहर ल्याएको छ। उदाहरणको रुपमा प्रयोगात्मक शिक्षण (Experiential Learning), समस्या-आधारित शिक्षण (Problem-Based Learning), र संवादमूलक शिक्षण (Dialogical Education) जस्ता विधिहरू बैंकिंग शिक्षा प्रणालीको विकल्पका रूपमा विकसित भएका छन्।
१. संवादमूलक शिक्षा (Dialogical Education)
फ्रेरेले संवादमूलक शिक्षाको वकालत गर्छन्, जसमा विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया र पारस्परिक शिक्षाको सहसंवाद हुन्छ। यस्तो शिक्षाले विद्यार्थीहरूलाई आफ्नो वास्तविकता बुझ्न मद्दत गर्छ र उनीहरूलाई उत्पीडन विरुद्ध लड्न आवश्यक चेतना प्रदान गर्छ। संवादमूलक शिक्षाले ज्ञानलाई केवल हस्तान्तरणको साधनका रूपमा नलिई सह-निर्माण (Co-creation) को प्रक्रिया मार्फत सिकाउँछ। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध समतामूलक हुन्छ, जसले सिकाइ प्रक्रियालाई अर्थपूर्ण र प्रभावकारी बनाउँछ। यस प्रणालीमा शिक्षकहरू केवल ज्ञान दिने पात्र नभएर सिकाइका सहयात्रीको रूपमा प्रस्तुत हुन्छन्। विद्यार्थीहरूले प्रश्न गर्न, अनुभव आदानप्रदान गर्न, र आफ्नै सिकाइ प्रक्रिया निर्माण गर्न सक्षम हुन्छन्।
संवादमूलक शिक्षाले व्यक्ति-केन्द्रित शिक्षण प्रविधिहरूको प्रवर्द्धन गर्छ, जसले विद्यार्थीहरूलाई आफ्नो दैनिक अनुभव र सामाजिक यथार्थसँग जोडिन प्रेरित गर्छ। यस्तो शिक्षाले आलोचनात्मक सोच, समस्याको समाधान गर्ने क्षमताको विकास, र सक्रिय नागरिकताको अभ्यासलाई प्रवर्द्धन गर्छ। शिक्षालाई मात्र औपचारिक विद्यालय शिक्षासँग जोडेर नहेरी, समाज रूपान्तरणको एक शक्तिशाली साधनको रूपमा प्रयोग गर्नुपर्ने फ्रेरेको विश्वास थियो।आज पनि उनको धारणा समय सापेक्षर समाज रूपान्तरणको लागि अपरिहार्य रहेको छ। संवादमूलक शिक्षा प्रणालीको प्रयोग गर्दा विद्यार्थीहरूले शिक्षालाई दायित्वपूर्ण रूपमा लिन्छन्, तिनको सक्रिय सहभागिता बढ्छ, र समाजमा हुने अन्याय र उत्पीडनको विरुद्ध चेतना विकास गर्न सक्षम बनाउँछ।
संवादमूलक शिक्षाको महत्त्व वर्तमान समाजमा अझ बढी देख्न सकिन्छ, जहाँ परम्परागत शिक्षा प्रणालीले मात्र सफलता सुनिश्चित गर्न सक्दैन। नवीन सोच, निर्णय क्षमताको विकास, र सामाजिक न्यायको पक्षमा बोल्न सक्ने क्षमतायुक्त विद्यार्थीहरू तयार गर्नका लागि संवादमूलक शिक्षाको अभ्यास अनिवार्य छ। विशेष गरी नेपाल जस्ता समाजमा, जहाँ अझै पनि परम्परागत शिक्षा प्रणाली हावी छ । हाम्रो विद्यालय र समाजमा संवादमूलक शिक्षा प्रविधिहरू लागू गर्न आवश्यक छ, जसले विद्यार्थीहरूलाई आत्मनिर्भर, जागरूक, र समाज परिवर्तनमा अग्रसर बनाउनेछ।
२. चेतनशीलता (Conscientization)
फ्रेरेले Conscientization (चेतनशीलता) लाई प्रमुख शिक्षा सिद्धान्तको रूपमा अघि सार्नुभएको छ। चेतनशीलता भनेको मानिसहरूले आफ्नो सामाजिक, आर्थिक, र राजनीतिक अवस्था बुझ्ने र उत्पीडन विरुद्ध लड्ने चेतना प्राप्त गर्ने जागृत प्रक्रिया हो। यसले शिक्षालाई मुक्तिको माध्यम बनाउँछ र जिम्मेवार नागरिकको आधार तयार गर्न मद्दत पुग्दछ।
नेपालमा, अझै पनि धेरै विद्यालयहरूमा बैंकिंग शिक्षा प्रणालीको प्रभुत्व देखिन्छ। शिक्षकहरूले पाठ्यपुस्तकबाट कण्ठ गराउने तथा प्रवचन विधिबाट पाठहरूलाई मात्र दोहोर्याउँछन् । जसले गर्दा विद्यार्थीहरूलाई समालोचनात्मक रूपमा सोच्ने, समस्या समाधान गर्ने, र नवीन विचारहरू सिर्जना गर्ने अवसर प्राप्त हुँदैन। यो "डेट एक्सपायर" भएको शिक्षण पद्धति हो, जसले विद्यार्थीहरूलाई नयाँ युगको चुनौतीहरूको सामना गर्न सक्षम बनाउँदैन। आजको समाजले नवीन सोच, सिर्जनशीलता, र बहुआयामिक क्षमताहरूको माग गर्छ। शिक्षालाई केवल सूचना प्रवाहको साधनको रूपमा सीमित गर्नुको सट्टा, यसलाई समाज रूपान्तरण गर्ने उपकरणका रूपमा प्रयोग गर्न आवश्यक छ। त्यसैले, रूपान्तरणीय शिक्षण विधिहरूको अवलम्बन अपरिहार्य भएको छ, जसले विद्यार्थीहरूलाई आफ्नो परिवेश बुझ्न, आफूलाई सशक्त बनाउन, र सामाजिक न्यायका लागि संघर्ष गर्न प्रेरित गर्छ।
बैंकिङ कन्सेप्टलाई प्रतिस्थापन गर्ने नयाँ रूपान्तरणीय शिक्षण विधिहरू
आजको विश्वले विद्यार्थीहरूलाई केवल जानकारी ग्रहण गर्ने होइन, तिनीहरूलाई ज्ञानको सिर्जनाकर्ता र समस्या समाधानकर्ता बनाउने शिक्षण विधिहरूमा जोड दिइरहेको छ। अब म केही प्रमुख शिक्षण विधिहरूको चर्चा गर्नेछु । फ्रेरेले उल्लेख गर्नुभएको बैंकिङ कन्सेप्टलाई प्रतिस्थापन गर्दै नेपाली विद्यार्थीहरूमा उच्च क्षमतावृद्धि, आलोचनात्मक सोच र नवप्रवर्तनात्मक क्षमताहरू विकास गर्न सहयोग पुर्याउँछन्।
१. अनुसन्धानमूलक शिक्षण (Inquiry-Based Learning)
हामीले बालबालिकाहरूलाई बढीभन्दा बढी प्रश्न सोध्न प्रोत्साहन गर्नुपर्दछ । तर कक्षाकोठामा बालबालिकाहरूले प्रश्न गर्दा निरुत्साहित बनाउने गरिन्छ । बालबालिकाको जिज्ञासालाई उत्खनन गरी प्रोत्साहन गर्नुपर्नेमा उनीहरूको जिज्ञासा र खोज प्रतिको लगनशीलतालाई निमोठ्ने प्रचलन हावी छ । अनुसन्धानमूलक शिक्षण विधिले विद्यार्थीहरूलाई प्रश्न सोध्न, अनुसन्धान गर्न र आफ्नै निष्कर्षमा पुग्न उत्प्रेरित गर्दछ। यस पद्धतिमा शिक्षकले विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा सोच्न र अन्वेषण गर्न प्रोत्साहित गर्दछन्।
उदाहरणका लागि, विज्ञानको पाठ्यक्रममा विद्यार्थीहरूले प्रयोगशालामा स्वयम् प्रयोग गरेर वैज्ञानिक अनुसन्धानको प्रक्रिया आत्मसात गर्न सक्छन्। हाल कतिपय विद्यालयमा विज्ञान तथा आइसिटी ल्याबहरूको उपलब्धता रहेको देखिँदैन। आइसिटी ल्याब, विज्ञान ल्याब, भाषा ल्याब र गणित ल्याब स्थापना भएका विद्यालयहरूमा समेत यसको उचित अनुसन्धान र प्रयोग निरन्तर गर्न पर्दछ । यस विषयमा सरकारवालाले समतामूलक र पर्याप्त लगानीको समेत सुनिश्चितता गर्न जरुरी छ। यसले उनीहरूलाई आलोचनात्मक सोच, विश्लेषणात्मक क्षमताहरू र समस्याको समाधानमा नयाँ दृष्टिकोण अपनाउन मद्दत पुर्याउँछ।
नेपालमा, बहुसंख्यक शिक्षण पद्धति घोकन्ते विद्यामा आधारित छ । अनुसन्धानमूलक शिक्षण विधिले विद्यार्थीहरूलाई प्रश्न सोध्न र आफैंमा उत्तर खोज्न, तर्क कलाबाट तार्किक र वैज्ञानिक सोच सिर्जना गर्न उत्प्रेरित गर्न सक्छ। स्थानीय स्रोतहरू, प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरका विषयमा अनुसन्धान गर्दा विद्यार्थीहरूले आफ्नै समुदायसँग गहिरो सम्बन्ध विकास गर्न सक्छन्। जसले उन्नत जनशक्तिको आधार तयार गर्ने काममा ठोस मद्दत पुग्दछ।
२. कला-आधारित शिक्षण (Art-Based Learning)
कला-आधारित शिक्षण विधिले विद्यार्थीहरूको रचनात्मकता र भावनात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्दछ। यस विधिमा विद्यार्थीहरूलाई चित्रकला, संगीत, नृत्य, नाटक जस्ता कलात्मक माध्यमबाट सिकाइ गराइन्छ, जसले उनीहरूको मनोवैज्ञानिक र सामाजिक विकासमा योगदान पुर्याउँछ।
संसारमा सबैभन्दा प्रभावशाली र गतिशील रचनात्मक विधामध्येको एक विधा कला हो। नेपालको सांस्कृतिक परम्परा र स्थानीय कला (जस्तै किराँत कला, मिथिला कला, लोकगीत, नाच र परम्परागत नाटक) लाई पाठ्यक्रममा समावेश गर्दा विद्यार्थीहरूलाई आफ्ना सांस्कृतिक पहिचानको महत्व बुझेका देखिन्छन्। यसले उनीहरूलाई मात्र कलात्मक दक्षता होइन, सामाजिक र भावनात्मक समझदारी पनि प्रदान गर्दछ। कला-आधारित शिक्षण विधिले विद्यार्थीहरूलाई समस्या समाधान, रचनात्मक सोच र नयाँ विचारहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। अल्फा पुस्ताका बालबालिकाहरू बिस सेकेन्डभन्दा बढीका पट्यार लाग्दा भाषण र प्रवचन सुन्न तयार छैनन्। उनीहरूलाई कलामा आधारित शिक्षणबाट गुणात्मक सिकाइ गर्न सक्नु सिकाइको सर्वोत्तम र सफल विकल्प हुन सक्दछ ।
३. समस्या-आधारित शिक्षण (Problem-Based Learning)
समस्या-आधारित शिक्षण विधिले विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्याहरू समाधान गर्ने प्रक्रियामा संलग्न गराउँछ। यसमा विद्यार्थीहरूलाई समूहमा विभाजन गरी साझा समस्या प्रस्तुत गरिन्छ र तिनीहरूले सामूहिक रूपमा त्यस समस्याको समाधान खोज्छन्।
उदाहरणका लागि, ग्रामीण विद्यालयहरूमा पानीको कमी, कृषि प्रणालीमा सुधार र वातावरणीय संरक्षणका समस्याहरूलाई विषयवस्तुका रूपमा लिएर समस्या-आधारित शिक्षण गराउन सकिन्छ। पाठ्यक्रममा आधारित रहेर हरेक विविध विषयवस्तु तथा क्षेत्रका समस्याहरूको विवेकपूर्ण समाधान गर्न सिकाउनु नै समस्यामा आधारित शिक्षण हो। यसले विद्यार्थीहरूमा सहकार्य, संवाद र व्यावहारिक ज्ञानको विकासमा सहयोग पुर्याउँछ। समस्या-आधारित शिक्षण विधि अपनाउँदा विद्यार्थीहरूलाई आफ्नै समुदायका समस्याहरूमा प्रत्यक्ष संलग्न गराउने र तिनीहरूको सामाजिक उत्तरदायित्वको विकास गर्ने अवसर प्रदान हुन्छ।
४. निर्माणात्मक शिक्षण (Constructivist Learning)
निर्माणात्मक शिक्षण सिद्धान्त अनुसार, विद्यार्थीहरूले आफ्नै अनुभव र सामाजिक अन्तरक्रियाबाट ज्ञान निर्माण गर्छन्। यस विधिमा शिक्षकले विद्यार्थीहरूलाई सक्रिय रूपमा सिकाइमा सहभागी गराउँछन् र अनुभवजन्य सिकाइ, परियोजना कार्य तथा समूहमा काम गर्ने वातावरण सिर्जना गर्न प्रोत्साहित गर्दछन्।
निर्माणात्मक शिक्षणले विद्यार्थीहरूमा आत्मनिर्भरता, आलोचनात्मक सोच र नवप्रवर्तनात्मक क्षमताहरू विकास गर्दछ। नेपाली शिक्षण पद्धतिमा जहाँ परम्परागत तरिकाले शिक्षकबाट विद्यार्थीमा ज्ञान हस्तान्तरण गरिन्छ, निर्माणात्मक शिक्षणले विद्यार्थीहरूलाई आफ्नै अनुभवबाट सिक्ने मौका दिन्छ, जसले गर्दा उनीहरूको बौद्धिक विकास र सामाजिक अन्तरक्रिया दुवैमा सुधार आउँछ। व्यक्तिले विद्यालयबाट भन्दा पनि पहिला उसको घर र समाजबाट सिकाइको निर्माण सुरु गर्ने गर्दछन्। विद्यालय सिकाइ र समाज सिकाइको संयोगबाट मात्र असल सभ्य देशप्रेमी र सुसंस्कृत नागरिकको आधार तयार बन्न सक्दछ ।
५. परिवर्तनकारी शिक्षण (Transformative Learning)
परिवर्तनकारी शिक्षण विधि विद्यार्थीहरूको सोचमा मौलिक परिवर्तन ल्याउने उद्देश्य राख्छ। यस विधिमा विद्यार्थीहरूलाई आफ्ना पूर्वधारणाहरूलाई प्रश्न गर्न, आलोचनात्मक विश्लेषण गर्न र नयाँ दृष्टिकोणहरू अपनाउन उत्प्रेरित गरिन्छ। पाउलो फ्रेरेका अनुसार, शिक्षा केवल ज्ञान प्रदान गर्ने मात्र नभई सामाजिक र व्यक्तिगत परिवर्तनको माध्यम हुनुपर्छ।
परिवर्तनकारी शिक्षण विधिले विद्यार्थीहरूलाई सामाजिक अन्याय, शक्ति असमानता र पर्यावरणीय समस्याहरूमा सजग बनाउँछ र तिनीहरूलाई सक्रिय परिवर्तनकारीका रूपमा विकसित गर्दछ। नेपाली सन्दर्भमा, परिवर्तनकारी शिक्षणले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गर्ने होइन, सामाजिक परिवर्तनका लागि सोच्ने र काम गर्ने प्रेरणा दिन्छ।
६. मुक्ति-प्रधान शिक्षण (Emancipatory Pedagogy)
मुक्ति-प्रधान शिक्षण विधिले विद्यमान सामाजिक संरचनाहरूलाई चुनौती दिँदै स्वतन्त्र र स्वावलम्बी सोच विकास गर्न प्रेरित गर्दछ। यस विधिमा शिक्षक र विद्यार्थीबीचको पारंपरिक शक्ति सम्बन्धलाई पुनः परिभाषित गरिन्छ र सहभागी, समावेशी शिक्षण वातावरण सिर्जना गर्न ध्यान दिइन्छ।
मुक्ति-प्रधान शिक्षणले विद्यार्थीहरूलाई आफ्ना अधिकार, पहिचान र सामाजिक न्यायका मुद्दाहरूमा जागरूक बनाउँछ। यसले तिनीहरूलाई सामाजिक परिवर्तनका लागि प्रेरित गर्ने मात्र नभई, आफ्नो ज्ञान र क्षमताको पूर्ण विकासमा सहयोग पुर्याउँछ। नेपालमा, जहाँ परम्परागत शिक्षण पद्धतिमा शिक्षकहरूलाई मात्र अधिकार दिइन्छ, मुक्ति-प्रधान शिक्षणले शिक्षक र विद्यार्थीबीचको अन्तरक्रिया र शक्ति सम्बन्धलाई पुनर्गठन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
अन्तर्राष्ट्रिय शिक्षण मोडेल र नेपालको सन्दर्भमा अनुकूलन
विश्वका अगाडि बढिरहेका देशहरू, जस्तै फिनल्याण्ड, सिंगापुर, जापान र क्यानडाले विद्यार्थी-केंद्रित शिक्षण विधिहरू अपनाएका छन्। यी विधिहरूले विद्यार्थीहरूको आलोचनात्मक सोच, नवप्रवर्तनात्मक क्षमताहरू र समस्याको समाधानमा उल्लेखनीय सुधार ल्याएका छन्। यस्ता अन्तर्राष्ट्रिय सफलताका मोडेलहरूलाई नेपाली सन्दर्भमा अनुकूल बनाउने दिशामा सोच्दा स्थानीय परम्परा, भाषा र सांस्कृतिक धरोहरलाई प्राथमिकता दिनुपर्छ।
फिनल्याण्डको शिक्षण प्रणालीले पारंपरिक विषय-आधारित शिक्षणलाई परित्याग गरी परियोजना-आधारित र समस्या-आधारित सिकाइमा जोड दिएको छ। फिनल्याण्डका विद्यालयहरूले विद्यार्थीहरूलाई अनुसन्धान, सहकार्य र रचनात्मक समस्याको समाधान गर्ने खुला वातावरण प्रदान गर्दछन्। यसले गर्दा विद्यार्थीहरूले केवल थुप्रै तथ्यहरू र ज्ञानको संचय गर्ने होइन, बरु आफूले प्रत्यक्ष अनुभव गरेर सिक्न र नयाँ समाधानका उपायहरू खोज्न सक्षम हुन्छन्। नेपालमा पनि ग्रामीण र शहरी विद्यालयहरूमा समस्या-आधारित सिकाइको अवधारणालाई अपनाएर स्थानीय समस्याहरू जस्तै जल व्यवस्थापन, जैविक कृषि र वातावरणीय संरक्षण लाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकिन्छ। यसले विद्यार्थीहरूलाई आफ्नो समुदायका समस्यामा प्रत्यक्ष संलग्न गराउने र उनीहरूलाई समाधानमुखी सोचमा विकसित गर्नेछ।
सिंगापुरले विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित र कलालाई एकीकृत गरेर STEAM शिक्षणलाई बलियो बनाएको छ। यस प्रणालीले विद्यार्थीहरूलाई बहुआयामी दृष्टिकोण र अन्तरविषयक ज्ञान प्रदान गर्दछ। सिंगापुरमा प्राविधिक र रचनात्मक क्षमताहरूलाई सन्तुलित रूपमा विकास गर्न STEAM मोडेलले शिक्षणलाई प्रयोगात्मक, अनुसंधानमूलक र अनुभवमूलक बनाउँछ। नेपाली पाठ्यक्रममा STEAM शिक्षणलाई स्थानीय सांस्कृतिक परम्परा र पारम्परिक ज्ञानसँग जोडेर, जस्तै परम्परागत कृषि, स्थानीय पर्यावरणीय ज्ञान र सांस्कृतिक कला, प्रयोग गर्न सकिन्छ। यसरी विद्यार्थीहरूले आधुनिक प्रविधि र परम्परागत ज्ञानको समिश्रणबाट वास्तविक र अन्तरविषयक समस्या समाधान गर्ने क्षमता विकास गर्न सकिन्छ।
जापानले Lesson Study विधि शिक्षकहरूको निरन्तर व्यावसायिक विकासमा केन्द्रित छ। यस विधिमा शिक्षकहरू मिलेर आफ्नो सिकाइ प्रक्रियाको समीक्षा, विश्लेषण र सुधार गर्ने काम गर्दछन्। जापानमा शिक्षकहरूको सहकार्य र निरन्तर सुधारले शिक्षण गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको छ। नेपालमा पनि शिक्षक तालिमका क्रममा Lesson Study विधिलाई अवलम्बन गर्नाले शिक्षण प्रक्रियामा नवप्रवर्तन र सुधारको संस्कृति विकास गर्न सकिन्छ। यसले शिक्षकहरूलाई नवीनतम शिक्षण विधिहरू जस्तै अनुसंधानमूलक र परियोजना-आधारित सिकाइ को प्रयोगमा पारंगत बनाउँछ र तिनको पेशागत विकासलाई द्रुत गतिमा अगाडि बढाउँछ।
क्यानडामा अनुसन्धानमूलक शिक्षण विधि व्यापक रूपमा प्रयोगमा आएको छ, जसले विद्यार्थीहरूलाई स्वावलम्बी सोच र खोजी गर्ने प्रवृत्ति विकास गर्न प्रेरित गर्दछ। क्यानडाका विद्यालयहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष अनुसन्धानका अवसरहरू प्रदान गरेर, स्थानीय स्रोतहरू र प्राकृतिक सम्पदासँगको गहिरो सम्बन्ध निर्माण गर्न मद्दत पुर्याएका छन्। नेपालमा पनि अनुसन्धानमूलक शिक्षणलाई पाठ्यक्रमको एक महत्वपूर्ण अङ्गको रूपमा समावेश गर्न सकिन्छ। स्थानीय इतिहास, परम्परागत ज्ञान र भौगोलिक विशेषताहरूसँग सम्बन्धित अनुसन्धानले विद्यार्थीहरूलाई आफ्नो सांस्कृतिक र प्राकृतिक धरोहरप्रति सजग बनाउनेछ र उनीहरूको आलोचनात्मक सोचलाई प्रोत्साहन गर्नेछ।
विदेशी शिक्षण विधिहरूको सफल प्रयोगबाट प्राप्त अनुभव र सफलताहरूले प्रमाणित गर्दछ कि विद्यार्थी-केंद्रित, सहभागी र नवप्रवर्तनात्मक सिकाइ विधिहरूले ज्ञानको मात्र नभएर सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँछन्। नेपालमा यी विधिहरूको समायोजनका लागि स्थानीय शैक्षिक संस्थाहरू, शिक्षकहरू, अभिभावक र सरकारवालाहरू बीचको घनिष्ठ सहकार्य अपरिहार्य छ। स्थानीय परम्परा, भाषा र सांस्कृतिक विशेषताहरूलाई ध्यानमा राख्दै, शैक्षिक विधिहरूलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय सफलताका मोडेलहरूसँग जोडेर विकसित गर्न सकिन्छ।
निष्कर्ष
नेपालमा परम्परागत शिक्षण पद्धति अझै पनि बैंक डिपोजिट मोडेलमा आधारित छ, जसले गर्दा विद्यार्थीहरू केवल रटेका ज्ञानको भण्डारणमा सीमित हुन्छन्। तर, नयाँ पुस्ताका Z र Alpha पुस्ताले नयाँ, सहभागी र परिवर्तनकारी शिक्षण विधिहरूलाई रुचाउँछन्। परम्परागत बैंक डिपोजिट मोडेल अब “डेट एक्सपायर” भइसकेको छ। नयाँ, सहभागी, र रूपान्तरणीय शिक्षण विधिहरू जस्तै अनुसन्धानमूलक, कला-आधारित, समस्या-आधारित, निर्माणात्मक, परिवर्तनकारी र मुक्ति-प्रधान शिक्षणले नेपाली विद्यार्थीहरूलाई उच्च क्षमतावृद्धि, काल्पनिकसोच, नवप्रवर्तनात्मकर रचनात्मकता प्रदान गर्न सक्षम छन्। विदेशी शिक्षण विधिहरूको अवलम्बनबाट प्राप्त सफलताको आधारमा, नेपालमा स्थानीय परम्परा र आधुनिक प्रविधिको समिश्रणले शिक्षण प्रणालीलाई पुनर्निर्माण गर्न सकिन्छ। यसरी, विद्यार्थीहरूलाई केवल जानकारीको भण्डारणमा सीमित नराखी, तिनीहरूलाई जीवनका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने, समस्याको समाधान खोज्ने र समाज परिवर्तनमा सक्रिय भाग लिने शिक्षा प्रदान गर्न सकिन्छ।
हाम्रो विद्यालय र शैक्षिक संस्थाहरूले शिक्षक तालिम, डिजिटल शिक्षण प्रविधि, र स्थानीय समुदायसँगको सहकार्य मार्फत शिक्षण पद्धतिमा नयाँ अध्याय सुरु गर्नुपर्छ। "पढौँ,गरौँ , परिवर्तनमा सरिक हौ" भन्ने भावनाले नेपाली विद्यार्थीहरूलाई आफ्ना ज्ञान र क्षमताको विकासमा निरन्तरता र उत्साह जगाउन सकिन्छ। यसरी, परम्परागत शिक्षण पद्धति र बैंक डिपोजिट मोडेललाई चुनौती दिँदै, नेपाली शिक्षा प्रणालीलाई रूपान्तरणीय शिक्षण विधिहरू मार्फत नयाँ दिशा प्रदान गर्न सकिन्छ । नेपालमा यी विधिहरूलाई लागू गर्न स्थानीय शैक्षिक संस्थाहरू, शिक्षकअभिभावक संघ, शिक्षक महासंघ, अभिभावक र सरोकारवालाहरूको घनिष्ठ सहकार्य अपरिहार्य छ। यसले गर्दा पाठ्यक्रममा स्थानीय परम्परा, भाषा र सांस्कृतिक विशेषताहरूलाई समावेश गर्दै, आधुनिक र अन्तर्राष्ट्रिय शिक्षण प्रविधिको मिश्रणबाट नवपरिवर्तनात्मक शिक्षण प्रणाली विकास गर्न सकिन्छ। हामीले नवप्रवर्तनात्मक शिक्षण विधिहरूलाई अपनाउनु भनेको केवल नयाँ प्रविधिको अवलम्बन मात्र होइन, यो हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक उत्तरदायित्व पनि हो। शिक्षक र विद्यार्थीहरूबीचको पारंपरिक शक्ति सम्बन्धलाई परिवर्तन गर्दै, सहभागितापूर्ण र आलोचनात्मक शिक्षण वातावरण सिर्जना गर्नु नै वास्तवमै परिवर्तनको शुरुवात हो। यस्ता शिक्षण विधिहरूले विद्यार्थीहरूलाई आफ्नो अधिकार, पहिचान र सामाजिक न्यायका पक्षमा सजग बनाउँछ र अन्ततः उनीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ।

0 Comments